नियम १२
मूल्य निर्धारणका आधार
(१) नियम ११ बमोजिम मूल्य निर्धारण गर्दा मूल्य निर्धारण समितिले देहायका आधार लिनु पर्नेछ:-
(क) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल तथा सम्पत्तिको किताबी मूल्य (बुक भ्याल्यू) तथा त्यसको स्वच्छ बजार मूल्य (फेयर मार्केट भ्याल्यू),
(ख) उपकरण तथा यन्त्र भए सोसँग सम्बन्धित ह्वास कट्टीपछि कायम हुने वास्तविक मूल्य,
(ग) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको दूरसञ्चार सेवाको व्यापारिक ख्याति (गुडविल),
(घ) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले विकास गरेको दूरसञ्चार प्रणाली तथा अन्य अनुमतिपत्र प्राप्त व्यक्तिसँग परस्पर सेवा आबद्ध भएको वा जोडिएको भए त्यसको मूल्य,
(ङ) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकले प्रयोग गरेको फ्रिक्वेन्सीको परिमाण तथा प्रयोग वापत भुक्तानी भइरहेको रकम,
(च) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको सम्पत्ति मूल्याङ्कन हुँदाका बखत दैनिक, मासिक तथा वार्षिक आय (ग्रस रेभेन्यू) कूल रकम,
(छ) अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको बजार सञ्जाल,
(ज) नियम ५ बमोजिमको दायित्व र नियम ७ बमोजिमको कार्ययोजनामा उल्लिखित विषय,
(झ) नेपाल सरकारले निर्धारण गरेका अन्य आधार ।
(२) उपनियम (१) बमोजिम सम्पतिको मूल्य निर्धारण गर्दा मूल्य निर्धारण समितिले मौद्रिक इकाईमा उल्लेख गर्नु पर्नेछ।